कुमार शर्माको ‘कथा जिन्दगीको’

खरा, ११ साउन ,

युवा कलाकार कुमार शर्माको पहिलो एल्बम ‘कथा जिन्दगीको’ बुधबार पोखरामा विमोचन गरिएको छ । तीन गीत संग्रहित एल्बम एवं म्युजिक भिडियोको लेखनाथ साहित्यिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, संगीत प्रशिक्षक नवराज बराल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्त रुपमा विमोचन गरे ।

 

एपोस्टल मिडिया प्रालिको प्रस्तुति रहेको एल्बममा समावेश तीन गीतमा कुमार शर्माको स्वर, संगीत तथा अभिनय छ । ‘कथा मेरो’ र ‘चिरा चिरा’ बोलको गीतमा शब्द पनि स्वयं शर्माको नै रहेको छ । गीतको एरेन्ज योगेशकाजी विसीले गरेका हुन् । ‘धेरै चोटी रेटिएछु’ बोलको गीतमा प्रकाश सुवेदीको शब्द रहेको छ । ‘कथा मेरो’ गीतको म्युजिक भिडियोको निर्देशन तथा छायांकन राजन रोक्काले गरेका छन् । भिडियोमा कुमार शर्माका अलावा भीमराज तिमिल्सिना र सम्झना शिर्पालको अभिनय छ । अनील शाहीद्वारा निर्देशित ‘चिरा चिरा’ को भिडियोमा कुमार, अञ्जिता सुवेदी र कोमल श्रेष्ठले अभिनय गरेका छन् । ‘धेरै चोटी रेटिएछु’ गीतको भिडियो निर्देशन सुवास राइले गरेका हुन् । भिडियोमा कुमार, गोकुल घिमिरे र विनिता तामाङको अभिनय छ । तीनवटै म्युजिक भिडियो युट्युबमा समेत सार्वजनिक भइसकेको छ ।

विमोचन कार्यक्रममा गायक तथा मोडल शर्माले संगीतप्रतिको मोह लामो समयदेखि भएपनि उपयुक्त समय पर्खिदाँ एल्बम सार्वजनिक गर्न ढिलाइ भएको बताए । उनले गायन र मोडलिङमा भएको रुची सबैसामु प्रस्तुत गर्न पाएको खुसी व्यक्त गरे । प्रमुख अतिथि पदमराज ढकालले गायन, लेखन, संगीत र मोडलिङ गर्ने खुबी भएका शर्मा बहुप्रतिभाको धनी भएको बताए । उनले संगीतमा निरन्तर अघि बढ्न शर्मालाई शुभकामना दिए । संगीत प्रशिक्षक नवराज बरालले पोखरामै रहेर संगीतमा योगदान दिन सक्नु शर्माको खुबी भएको भनाइ व्यक्त गरे । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले संगीतको सबै विधामा शर्माले उत्कृष्ट काम गरेको उल्लेख गरे । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, फेन्सी तथा रेडिमेड एसोसियसन पोखराका अध्यक्ष केशव खत्री लगायतले शर्माको सांगीतिक भविष्य उज्ज्वल रहेको चर्चा गरे ।

विमोचन कार्यक्रममा कुमारकी जीवनसंगीनि गंगा तिवारीले उनको व्यक्तिको बारेमा चर्चा गरिन् । एपोस्टल मिडियाका सञ्चालक अनील शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्तोषी मनले गरेकी थिइन् ।

प्रकाशित मितिः बुधबार, साउन ११, २०७४     7:14:58 PM

Tara Chapagain

See all posts by