सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौं, ९ असार:सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।

को हुन् मुख्यसचिव भएका क्षेत्री ?

सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । तर, प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बीच एमाले नेतृत्वको अडमा कानुन समूहबाट प्रशासनमा आउन सफल भएका थिए ।

यदि मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएर एडीबी गएको भए उनी मुख्य सचिव नहुनसक्थे किनकी वरिष्ठका आधारमा धनबहादुर तामाङ अगाडि हुन्थे । तर, सुवेदी राजीनामा नदिई काजमा गएपछि तामाङले अवकास पाएका छन् । क्षेत्रीको कार्यकाल पनि लामो हुने छैन उनको ५८ वर्ष उमेर हदका कारण उनले कात्तिक ८ गते अनिवार्य अवकास पाउनेछन् ।

मुख्य सचिव नियुक्त राजेन्द्र किशोर क्षेत्री ०४१ पुसमा कानुन सेवामार्फत शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए । काठमाडौंको लैनचौर घर भएका उनले नेदरल्यान्डबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

क्षेत्री कानुन सेवाबाट प्रशासन सेवामा आई ऊर्जा मन्त्रालयको सचिव बनेका थिए । कानुन समूहका व्यक्तिलाई ऊर्जामा ल्याइएको भन्दै प्रशासन र प्राविधिक समूहका कर्मचारीहरुले विरोध गरेका थिए । ऐनमा भएको व्यवस्थाविपरीत क्षेत्रीलाई ऊर्जा मन्त्रालयमा ल्याइएको भन्दै लोकसेवा आयोगले समेत आपत्ति जनाएको थियो ।निजामती सेवा ऐनविपरीत कानुन समूहका क्षेत्रीलाई तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको जोडबलमा ऊर्जा मन्त्रालयमा सचिव बनाएर ल्याइएको थियो । तर, मन्त्री ज्ञवाली र सचिव क्षेत्रीको सम्बन्ध तिक्ततापूर्ण भयो ।

सोलु करिडोर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी मोहन इनर्जीलाई दिने विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयविरुद्ध क्षेत्रीले नोट अफ डिसेन्ट लेखेपछि मन्त्री र सचिवबीच विवाद चुलिएको थियो । मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिमा सचिवले नोट अफ डिसेन्ट लेखेको प्राधिकरणको इतिहासमा पहिलो घटना थियो । मन्त्री ज्ञवाली प्राधिकरण सञ्चालक समितिको अध्यक्ष थिइन् भने सचिव क्षेत्री सदस्य थिए । क्षेत्री भारतीय कम्पनी ज्यागुवार ओभरसिजको पक्षमा थिए । दुई जनाबीचको विवादले लामो समयसम्म सन्चालक समितिको बैठक समेत बस्न सकेको थिएन ।

मन्त्री ज्ञवाली र सचिव क्षेत्रीबीच पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइओको नियुक्तिको विषयलाई लिएर पनि विवाद चुलिएको थियो । सचिव क्षेत्री मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीलाई सिइओ नियुक्त गर्न चाहन्थे । उनले अधिकारीलाई सिइओ नियुक्त गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान मन्त्रीसमक्ष पेस गरेका थिए । तर, मन्त्री ज्ञवालीले अधिकारीको नाम हटाएर महेन्द्रबहादुर गुरुङलाई अगाडि सारेपछि विवाद चुलिएको थियो । मन्त्री ज्ञवाली र सचिव क्षेत्रीबीच बोलचाल नै बन्द हुने अवस्थामा पुगेको थियो । विवादका कारण कार्यसम्पादन नै प्रभावित हुन पुगेपछि सरकारले नै ऊर्जामन्त्री ज्ञवालीलाई फिर्ता बोलाएको थियो । सभार अनलाइन

प्रकाशित मितिः बिहिबार, असार २९, २०७४     9:47:51 PM

Ganesh Pahari

See all posts by