चुनावका लागि राजपालाई मनाउने प्रयासमा सत्तारुढ दल.

काठमाडौं, २८ जेठ / सत्तारुढ दलले राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउन आइतबार पनि प्रयास जारी राख्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले राजपाको अध्यक्ष मण्डलका नेतासँग छलफल गर्न लागेका हुन् । बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने सम्भावना नरहेको र पटकपटक सारिएको चुनावको मिति अझै सार्न नसकिने भएकाले राजपाका बाँकी माग पूरा गर्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ दलका नेताहरुका अनुसार मधेश आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा, घाइतेको उपचार खर्च र मुद्दा फिर्ता लिने लगायतका विषयमा लचिलो हुने सत्तापक्षले तयारी गरेको छ । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बरु चुनावै बिथोल्ने बताउँदै आएको राजपाका नेतालाई पनि चुनावमा भाग लिन पार्टीभित्रै र बाहिरबाट पनि दबाब बढ्दै गएको छ ।

राजपा बाहेकका सवै पार्टीले चुनावको तयारी तीब्र पारिसकेको र २० वर्षपछि हुन लागेको स्थानीय स्तरको चुनाव हुन नदिनु आफ्नो क्षेत्रको विकास विरोधी काम हुने भएकाले माग पूरा गर्न सरकारलाई थप प्रतिबद्ध बनाएर चुनावमा माग लिनुपर्ने दबाब राजपाभित्र पनि बढ्दै गएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     7:48:38 AM

Ganesh Pahari

See all posts by