सहज हवाई सम्पर्कबाट पर्यटनको विकास सम्भव.

वासुदेव पौडेल, (भारत)सिलगुडी, २८ जेठ / भारतको उत्तरपूर्वी क्षेत्रमा कृयाशिल पर्यटन व्यवसायीले पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सिमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाइ सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् ।नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिवारदेखि उत्तरपूर्वी भारतमा सुरु प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा सिलगुडीमा आयोजित एक समारोहमा उक्त जोड दिइएको हो ।

कार्यक्रममा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएसनका अध्यक्ष सम्राट सन्यालले पर्यटनको विकासका लागि कनेक्टिभिटि आवश्यक भएको बताउँदै पोखराबाट भारतका सिमा नजिकै रहेका विमानस्थलमा सिधा हवाइ सम्पर्क हुनुपर्ने बताउनुभयो ।पोखरा आफैंमा सुन्दर नगरी भएको बताउँदै उहाँले यसको समग्र विकासका लागि पर्यटन सम्बद्ध संस्था र यहाँका व्यवसायी अग्रसर बन्नुपर्ने उल्ल्ेख गर्नुभयो ।उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थाहरू पोखरासँग पर्यटनमा साझेदारी गर्न तयार रहेको उहाँको भनाइ छ ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरिएको थियो । पोखराको पर्यटकीय विकासका लागि उक्त सम्झौता एउटा महत्वपूर्ण आधार बनेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलियाले बताउनुभयो ।उहाँले यससँगै व्यवसायिक दक्षता अभिबृद्धि, संयुक्त प्रचारप्रसार, व्यवसायिक नेटवर्किङ, प्रवद्र्धन लगायतमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखराको समग्र पर्यटकीय विकासका लागि प्रवद्र्धनात्मक भ्रमण बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उत्तरपूर्वी भारतका पश्चिम बंगाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरम लगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणका लागि आउने गरेको पाइन्छ ।पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले भारतीय पर्यटन व्यवसायीले पोखराको पर्यटनका लागि हवाई सम्पर्कका साथै अत्यावश्कीय पूर्वाधार विकासका लागि दिएको सुझावलाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पर्यटनका पर्याप्त सम्भावना बोकेका स्थलमा सडक यातयातका साथै हवाई यातायात सेवा सहज गर्नु अपरिहार्य भएको बताउँदै उहाँले यस तर्फ राज्यको प्राथमिकता आवश्यक हुने उल्लेख गर्नुभयो ।प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा भारतका डुअर्स, ग्याङ्गटोक लगायतका स्थानका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिसँग पनि छलफल एवम् अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     7:27:20 AM

Ganesh Pahari

See all posts by