उत्तरपूर्वी भारतसँग पर्यटनमा साइनो गास्न पोखराका व्यवसायी भारत तर्फ.

वासुदेव पौडेल, काँकरभित्ता, २७ जेठ / पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग आफ्नो साझेदारी बढाउने प्रयास थालिएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरिएको थियो ।

उक्त सम्झौतामा व्यवसायिक दक्षता अभिबृद्धि, संयुक्त प्रचारप्रसार, व्यवसायिक नेटवर्किङ, प्रवद्र्धन लगायतका विषय समेटिएको थियो । पर्यटनका लागि साझेदारीको क्रम अघि बढाउन र पोखराको पर्यटन प्रवद्र्धनका लागि यस वर्ष पनि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको बोर्डको पोखरा कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिनुभयो ।

“यस वर्ष जुन ९(आज शनिवार) देखि १४ सम्म गरिने कार्यक्रमका क्रममा भारतको सिलगुडी, डुअर्स र ग्याङ्गटोकमा त्यहाँका पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधिसँग पोखरा सहित समग्र नेपालको पर्यटनको विकास र साझेदारी सम्बन्धमा छुट्टाछुट्टै छलफल एवम् अन्तरक्रिया गरिने छ,” उहाँले भन्नुभयो, “उत्तरपूर्वी भारतका अधिकतम पर्यटकलाई नेपाल भित्राउन र उनीहरूको बसाइ लम्ब्याउनका लागि प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक महसुस गरी बोर्डले प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको हो ।” उत्तरपूर्वी भारतका पश्चिम बंगाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरम लगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणका लागि आउने गरेका छन् ।

पूर्वी हिमाली श्रृङखलासँग जोडिएका यी भूभागमा नेपाली भाषीको बाहुल्यता रहेको पाइन्छ । अफगानिस्तानबाट पाकिस्तानहुँदै सुरु हुने विश्वको पूर्वी हिमाली श्रृङखला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकोले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका दृष्टिले यिनीहरूको संयुक्त विकासको विषय पछिल्लो समय सबैको चासो र चर्चामा छ । नेपाल आउने विदेशी पर्यटक नेपाल पछि भुटान र सिक्किम जाने भएकोले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारत सहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ ।नेपालमा २०७२ सालमा गएको विनासकारी भूकम्प पछि विस्तारै गति लिन थालेको यहाँको पर्यटनको विकासले तत्कालै सिक्किम तथा भुटानमा पनि सकारात्मक प्रभाव पारेको थियो ।

भारतका सिल्गुडी, डुअर्स, ग्याङ्गटोकका साथै सिक्किम, दार्जलिङ हुँदै मणिपुर लगायतका स्थानबाट धेरै भारतीय पर्यटक नेपालको काँकरभित्ता सहित पूर्वी क्षेत्रका नाका हुँदै आउने गरेका छन् ।काँकरभित्ता हुँदै पोखरा लगायतका स्थानमा जाने पर्यटकलाई राजमार्गमा पनि उत्तिकै सहज आवागमनको व्यवस्था हुनु आवश्यक देखिएको सरोकारवाला बताउँछन् ।काँकरभित्ता लगायतका पूर्वी नेपालका नाकाबाट भित्रिने पर्यटकलाई तराइका विभिन्न जिल्लाका राजमार्गमा बेला बेलामा गरिने बन्द हडतालले पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको कारण उक्त प्रभाव क्रमशः न्युनीकरण गर्दै अन्त्य नै गरिनुपर्ने तनहुको दुलेगौंडा घर भै रोजगारीका क्रममा हाल मणिपुरमा वस्दै आउनुभएका तनहु दुलेगौंडाका दीपक खनालले बताउनुभयो ।

“भारतीय पर्यटकको आगमनको सम्भावनालाई दृष्टिगत गरी काँकरभित्ता लगायतका नाकाबाट पोखरा, काठमाडौं लगायतका स्थानमा जानका लागि सुविधासम्पन्न सवारीसाधनको व्यवस्था गरिनु आवश्यक छ,” विगत १५ वर्ष यता उक्त मार्गमा आवतजावत गर्दै आएका खनालले भन्नुभयो, “यात्राका क्रममा बन्द हडतालका कारण बाटोमा पाउने सास्ती, अव्यवस्थित सडक आदिले नकारात्मक असर पार्ने हुँदा त्यस तर्फ सम्बन्धित निकाय बेलैमा सचेत बन्नु आवश्यक छ ।”नेपालको पर्यटनको मुख्य बजार छिमेकी राष्ट्र चीन र भारत हुन् ।

भूकम्प पछि चीनबाट आउने पर्यटकको संख्यामा निकै कमी आएको छ भने, भारतबाट पनि अपेक्षित पर्यटक आएका छैनन् ।कुल आउने पर्यटक मध्ये २० देखि २५ प्रतिशत भारतीय पर्यटकलाई नेपालमा आकिर्षत गर्न र उनीहरूको बसाई लम्ब्याउनका लागि बोर्डले प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउँदै बरिष्ठ अधिकृत थपलियाले यसका लागि पर्यटन व्यवसायीमा पनि पर्यटक मैत्री व्यवहार अपरिहार्य हुने बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २७, २०७४     9:58:31 PM

Ganesh Pahari

See all posts by