पोखरा १२ जेठ ।
नेकपा एमालेले बहुमत वडा सहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख जितेको छ । शुक्रवार सम्पन्न मतगणना अनुसार वडा र क्षेत्रफलको आधारमा देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् ।
महानगरको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए । जिसी र गुरुङले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारलाई भारी मत अन्तरले पराजित गरेका छन् । प्रमुखमा जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार अन्तरले मतले पराजित गरे । जिसीले कुल ६० हजार ११८ मत प्राप्त गर्दा कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । जिसीले कुँवरले भन्दा १३ हजार ७०२ मत बढी प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् ।
त्यस्तै उप मेयरमा पनि मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई ठूलै मत अन्तरले पराजित गरिन् । एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई १२ हजार ११० मत अन्तरले पराजित गरेकी हुन् । विजयी मञ्जुदेवी गुरुङले कुल ५६ हजार ४४८ मत प्राप्त गर्दा पराजित सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गरिन् ।
प्रमुख र उप प्रमुखमा निर्वाचित जिसी र गुरुङले पोखरा लेखनाथ महानगरको बृहत्तर विकास र यहाका नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । आफुहरु एमाले उम्मेदवारको रुपमा निर्वाचित भएपनि सबै राजनीतिक दल र महानगरवासीको साझा प्रमुख र उपप्रमुखका रुपमा स्थापित हुने उनीहरुले बताए ।