लायन्स क्लव अफ पोखरा मुनालको आकस्मिक खुल्ला रक्तदान.

पोखरा, ७ जेठ /स्थानीय तहको निर्वाचनका कारण पोखरामा आवश्यक पर्ने रगत अभाव हुँदै गएको छ । स्थानीय स्तरको सहभागिता निर्वाचनमा व्यस्त भएका कारण रक्तदान कार्यक्रमहरु नभएको पोखरामा रगत अभाव भएको रक्त सञ्चार केन्द्रका बरिष्ठ प्राविधिक अर्जुन ज्ञवालीले बताए ।

अभावलाई मध्यनजर गर्दै आकस्मिक रक्तदाता समूहको कार्यलाई निरन्तरता दिंदै आएको व्यवस्थापक हरिश्चन्द्र शर्माले बताए । अभावलाई मध्यनजर गर्दै लायन्स क्लव अफ पोखरा मुनालले आकस्मिक खुल्ला रक्तदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका अध्यक्ष ज्ञानेन्द्रराज कोइरालाले बताए ।

कार्यक्रममा अग्रज रक्तदाता एवं स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापाले रगतले गर्ने काम कुनै औषधिले नगर्ने र पोखराका संघ संस्थाहरुबाट हुने रक्तदान कार्यक्रमले छिमेकी जिल्लाहरुमा समेत सहयोग पुगेको बताए ।

लायन्स क्लवका पूर्व गभर्नर दीपक श्रेष्ठले शुभारम्भ गर्नुभएको कार्यक्रममा रिजन चियरपर्सन सुदीप ढुङ्गाना, रक्त संचार केन्द्रका बरिष्ठ प्राविधिक ध्रुव लामिछाने, प्राविधिक मञ्जु नेपाली, अग्रज रक्तदाता एवं आकस्मिक रक्तदाता कार्यक्रम संयोजक सुरेन्द्र विजुक्छे, जितेन्द्रमान शाक्य, सचिव कृष्ण तिमिल्सिना, संयोजक अशोक कार्की लगायतले रक्तदानको महत्वमाथि आ–आफ्नो धारणा राखेका थिए ।

रक्त संचार केन्द्रको रेकर्ड अनुसार पोखरामा २ सय ९५ संघ संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान मार्फत मासिक १ हजार २ सय भन्दा बढी प्वाइन्ट रगत संकलन हुने र सोही अनुसार खपत हुने हुँदा हाल निर्वाचनका कारण रक्तदान कार्यक्रमहरु नहुँदा पोखरामा रगत अभाव भएको छ । अभियानले मानवीय कार्यको महत्वपूर्ण पुण्य काम रक्तदानलाई निरन्तरता दिन आम संघसंस्थाहरुलाई केन्द्रले आह्वान गरेको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ७, २०७४     8:15:29 PM

Ganesh Pahari

See all posts by