पोखरा उपत्यका बृहत् सफाइ अभियानको ५१ औं श्रृंखला

पोखरा, ६ जेठ/ पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको ५१ औं श्रृंखला पोखरा २० भलाममा शनिबार सम्पन्न भएको छ ।वडा कार्यालय परिसर डाँडाखोरदेखि भलामखोला हुँदै ¥यालेचोरसम्म सफाइ गरिएको हो ।करिब पाँच किलोमिटर दुरीमा भएको सरसफाइमा झण्डै तीन टन फोहोर संकलन भएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

अभियानमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल कालिका गण र पोखरा लेखनाथ महानगरपालिका कार्यालयले ऐक्यबद्धता जनाएका थिए ।त्यस्तै, मुक्तिनाथ विकास बैंक, हाम्रो त्रयु स्काउट, भीमकालीपाटन टोल विकास संस्था, फूलबारी क्लब, सामाजिक अभियन्ताहरु, स्थानीय संघ संस्था लगायत वडा बासीको उल्लेख्य उपस्थिति रहेको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिए ।

यसअघि कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले राष्ट्रिय गान बजाएका थिए भने कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले सफाइ र देशभक्ति अभियानको सपथ गराएका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका तर्फबाट पाँच सय जोर ग्लोब र नगरपालिका कार्यालयका तर्फबाट डोको उपलब्ध गराइएको थियो ।

यसअघि ५० औं हप्ताको सफाइ अभियान लामाचौरस्थित प्रसिद्ध सांस्कृतिक सम्पदा अकलादेवी मन्दिर परिसरमा स्थानीय तह निर्वाचनको अघिल्लो दिन भएको थियो ।आगामी ५२ औं साताको सफाइ अभियान वडा नम्बर २१ कृस्तीमा हुने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     9:14:31 PM

Ganesh Pahari

See all posts by