काठमाडौं, ३० वैशाख /नेपाली कांग्रेसले काठमाडौंको कपन र मुस्ताङमा निर्वाचन आचार संहिता विपरीत आफ्नो पार्टीका नेताहरुमाथि हुलहुज्जत भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । साथै दुबै ठाउँमा आफ्नो पार्टीको तर्फबाट आचार संहिता उल्लंघन नभएको कांग्रेसले स्पष्टीकरण दिएको छ ।
कपनमा एमाले कार्यकर्ताले स्वास्थ्यमन्त्री गगन थापामाथि दुर्व्यवहार गरेका थिए । मामाघरबाट फर्कने क्रममा कपनमा स्थानीय पार्टी नेताहरुसँग छलफल गरेका थापामाथि आचार संहिता उल्लंघन गरेको भन्दै एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् । उनीहरुले थापा चढेको गाडीमा ढुंगा समेत हानेका थिए । यस्तै कांग्रेसकै नेता एवं वाणिज्यमन्त्री रोमी गौचन थकालीले पनि आचार संहिता विपरीत पैसा बाँडेको भन्दै मुस्ताङमा एमालेसहितका दलले विरोध गरेका थिए ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्यामा मौन समयको अवधि पारेर प्रेस युनियनले शनिबार साँझ गरेको कार्यक्रममा कांग्रेस प्रचार विभाग उपप्रमुख गगन थापाले भने, ‘आचार संहिता उल्लंघन गर्यो, यो गर्यो, त्यो गर्यो भनेर जसरी हौवा फैलाइएको छ, यो आधारहीन छ ।’दुबै घटनामा आचार संहिता उल्लंघन भएको रहेछ भने निर्वाचन आयोगले गर्ने जुनसुकै कारवाही भोग्न कांग्रेस तयार भन्दै उनले पुष्टि गर्न चुनौती दिए ।
प्रचार विभाग उपप्रमुख थापाले भने, ‘आचार संहिता विपरीत हाम्रा पार्टी सदस्यहरुमाथि हुलहुज्जत भएको छ भनेर हाम्रो पार्टीको तर्फबाट आयोगमा उजुरी दिएका छौं, आयोगले दूधको दूध पानीको पानी गर्छ र हामी आयोगको फैसला मान्छौं ।’नेपाली कांग्रेसले निर्वाचन परिणामको पूर्वानुमान लगाएर हतास मानसिकताबाट उत्तेजित भएर कार्यकर्तालाई उचाल्ने र निर्वाचनको वातावरण बिथोल्ने काम नगर्न चेतावनी समेत दिएको छ ।