कांग्रेस र माओवादीले भने- पोखरामा रामजी कुँवर हाम्रा साझा उम्मेदवार.

पोखरा, २६ बैशाख/ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा रामजी कुँवर आफूहरुको साझा उम्मेद्वार भएको बताएका छन् । कांग्रेस कास्की र माओवादी केन्द्र कास्कीले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेसबाट उम्मेद्वारी दिएका कुँवर आफूहरुको साझा उम्मेद्वार भएको बताएका हुन् ।

कांग्रेस र माओवादी केन्द्रबीच केन्द्रीय स्तरमा पोखराको मेयरमा माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउने र भरतपुरमा कांग्रेसले माओवादी उम्मेद्वारलाई सघाउने निर्णय भएको थियो । त्यस अनुसार पोखराको मेयरमा उम्मेदवारी दर्ता गरेका माओवादीका विश्वप्रकाश लामिछानेले उम्मेद्वारी फिर्ता लिएका थिए । तर, जनस्तरमा अन्यौल रहेको भन्दै दुबै दलले पत्रकार सम्मेलन गरेर कुँवर साझा उम्मेद्वार भएको जनाएका हुन् ।

माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइरालाले भने,’हामीले कांग्रेसका उम्मेद्वार रामजी कुँवरलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता गरेका हौं, अझैपनि कहिंकतै अन्यौलता छ भने अबपनि अन्यौलमा नबस्न आग्रह गर्छौं ।’ कोइरालाले माओवादी कार्यकर्ताले रुखमा भोट हाल्दैन कि भनेर शंका नगर्न समेत गरे । उनले भने, ‘हामीबीच जे सहमति भयो, त्यो अक्षरश पालना गछौर्ं किनकी रामजी कुँवरले जिते माओवादीले पनि जित्ने हो र उनले हार्दा माओवादीको पनि हार हुन्छ ।’

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कांग्रेस र माओवादीबीच अनुकरणीय सहकार्य भएको बताउँदै यो पालना हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताए । उनले भने,’भोलि जितेपछि रामजी कुँवर साझा मेयर बन्नुहुन्थ्यो, तर आज नजित्दै सहकार्य गरेर साझा उम्मेद्वार बनाउन पायौं ।’ सहमति पालना नभए भोलिका दिनमा समेत असर पर्नसक्ने बताउँदै उनले अहिले माओवादीले पोखरामा देखाएको उदारताको पछि सरप्राईज उपहार दिने उद्घोष पनि गरे । त्यो सरप्राईज के हो भन्ने बारेमा भने उनले केहीपनि खुलाएनन् ।

मेयरमा माओवादीले कांग्रेसलाई सघाउने भएपनि उपमेयरमा भने कांग्रेस र माओवादीले छुट्टाछुट्टै उम्मेद्वार उठाएका छन् । मेयरमा मात्रै सहमति भएकाले उपमेयरमा भने आ-आफ्नै तरिकाले चुनाव लड्ने उनीहरुले बताएका छन् । ‘जे सहमति छ, त्यसलाई मात्रै कार्यान्वयन गर्ने हो, अन्यमा आ-आफ्नै तरिकाले चुनाव लड्ने तयारीमा छौं, उपमेयर नछाड्दा सहमति भाँडिन्न र सहमति पालनामा कुनै असर पार्दैन’-माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइरालाले भने ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४     11:35:08 PM

Ganesh Pahari

See all posts by