मेयरमा प्रचण्डपुत्रीलाई भोट हाल्न चितवन कांग्रेस तयार.

 चितवन,२३ बैशाख, /चुनावी तालमेल गर्ने केन्द्रको सम्झौता लागू गराउन चितवनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ४ बुँदे सहमति भएको छ । भरतपुर महानगरमा कांग्रेसले माओवादीकी उम्मेदवार रेणु दाहाल र उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहलाई माओवादीले समर्थन गर्ने सहमति भएको थियो । त्यस अनुसार दुबै पार्टीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसको जिल्ला नेतृत्वमा असन्तुष्टि देखिएको थियो ।

शनिबार कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ र माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले चारबुँदे सहमति गरेका छन् । सहमतिपत्रमा केन्द्रमा भएको सम्झौता कार्यान्वयनका लागि महानगरस्तरीय पार्टी र भातृसंगठनलाई परिचालन गर्ने, मेयर र उपमेयरको संयुक्त प्रचारप्रसार गर्ने, वडाहरुमा हार्दिकता साथ समन्वय गरी कार्यक्रम गर्ने उल्लेख छ । सरकारमा भएको गठवन्धनलाई अझै दिगो बनाउन केन्द्रीयस्तरमा भएको सम्झौतालाई मानेर अघि बढ्ने कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताए । कार्यक्रममा कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, उपसभापति कैलाश कोइराला लगायत सहभागी थिए ।

वडामा कुरो मिलेन

भरतपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गर्ने भएपछि कांग्रेस चितवनले २९ वटै वडाका वडा अध्यक्षले आफूले पाउनुपर्ने माग गरेको थियो । तर, माओवादीले सबै वडाअध्यक्ष दिन नसकिने बताएपछि वडा बाँडफाँडमा दुई पार्टीको बीचमा कुरा मिलेन ।

‘सहमति कार्यान्वयनका लागि गठित कार्यदलले वडा बाँडफाँडमा सहमती गर्न सकेन,’ माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले भने, ‘वडामा समन्वय गर्ने जिम्मेवारी सम्वन्धित वडा पार्टी कमिटीलाई दिइएको छ ।’

वडा कमिटीमा पनि सम्झौता गरेर जाँदा निर्वाचनको अन्तिम तयारीमा जुटेका नेता र कार्यकर्ता थप आक्रोशित बन्ने हुन् कि भन्ने चिन्ता दुबै दललाई छ । सर्वसम्मत रुपमा उम्मेदवार टुंगिएका वडा अध्यक्ष र सदस्यहरुले प्रचार शुरु गरेको करिव २ साता हुन लागिसकेको छ । खर्च पनि गरेका, तयारी पनि गरेका उम्मेदवारलाई फिर्ता गराउन दुवै पार्टी नेतृत्वलाई समस्या हुने देखिन्छ ।

वडाअध्यक्ष उम्मेदवारलाई कारबाही

माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्षका उम्मेदवार ज्ञानप्रसाद खनाललाई पार्टीबाट निस्कासन गरेको छ । एमालेसँग मिलेर वडामा र तालमेल गरेको भन्दै खनालमाथि कारबाही गरिएको हो ।

एमालेले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार खनाललाई स्थानीय स्तरमा नै सहयोग गर्ने र माओवादी केन्द्रले एमालेका ४ सदस्यलाई सहयोग गर्ने सहमति भएको थियो । यो सहमति अनुसार एमालेले वडा अध्यक्षका उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको छ भने माओवादी केन्द्रले सदस्यको उम्मेदवारी फिर्ता गराएको छ । पार्टी नेतृत्वको सहमति विपरित एमालेसँग तालमेल गरेकाले खनाललाई निष्कासन गरिएको चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले बताए ।

प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४     9:03:19 PM

Ganesh Pahari

See all posts by