रुकुममा कांग्रेस र माओबादी केन्द्रका कार्यकर्ताबिच झडप, केही घाइते

रुकुम, २३ वैशाख/रुकुमका विभिन्न स्थानमा शनिबार माओबादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता बिच चुनावको विषयमा झडप भएको छ । त्रिबेणी गाउँपालिकाको ८ नम्बर वडामा प्रचारमा रहेको नेपाली कांग्रेसको टोलीमाथी नेकपा माओबादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गर्दा दुवै पक्षका १२ जना कार्यकर्ता घाइते भएका हुन् ।

बेलुका पाँच बजेतिर भएको झडपमा केही मोटरसाइकल र प्रचारमा प्रयोग गरीएका गाडी समेत ध्वस्त भएको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका देवबहादुर ओलीले बताउनु भयो । झडपमा आफ्ना ६ जना कार्यकर्ताहरु गम्भीर घाइते भएको पनि ओलीले बताउनु भयो । आफूहरुले शान्तिपूर्ण तरीकाले चुनाव प्रचार गरिरहेको बेला एक्कासी आक्रमण भएको कांग्रेसको आरोप छ । घटनास्थलमा अझै स्थिति तनावग्रस्त रहेको नेपाली कांगेस रुकुमले जनाएको छ ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष गोपाल शर्मा अनलले कांग्रेस कार्यकर्ताको आक्रमणमा तीन जना कार्यकताहरु घाइते भएको बताउनु भयो । कांग्रेसले अनावश्यक निहुँ खोजेर घटना भएको उहाँले आरोप लगाउनु भयो । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको रुकुम प्रहरीले बताएको छ । उता मुसिकोट नगरपालिका २ मा नेपाली कांग्रेसको दलित महिला उम्मेद्वारको घरमा गाडेको झण्डा माओबादी केन्द्रका कार्यकर्ताले फालेको विषयमा दिउँसो झडप हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओबादी केन्द्रका कार्यकर्ताहरु  मुनपा २ का रमेश खड्का, सुवास खड्का, जीवन खड्का, भोगबहादुर खड्का, अनिल पुन मगर, दलबहादुर खड्का र डम्मर विक रहेका छन् । उनीहरुको  टाउँकोमा गहिरो  चोट लागेको छ । भोगबहादुर खड्का जिल्ला कृषि विकास कार्यालयमा कर्मचारी हुन् । घाइते सबैको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४     8:43:35 PM

Ganesh Pahari

See all posts by