रेकर्ड बनाउन सगरमाथा आरोहणमा गएका ८६ वर्षका मीनबहादुरको निधन

सोलुखुम्बु, वैशाख २३ –

सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ ।

सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको शनिबार बेलुका ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । हृदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । उहाँको शव आइतबार लुक्ला ल्याई काठमाडौँ पठाउने तयारी भइरहेको छ । 

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौँबाट हिँड्नुभएको थियो । उहाँले सन् २००८ मा ७६ वर्षको उमेरमा ३ सय ४० दिन लगाएर सगरमाथा आरोहण गर्नुभएको थियो ।

विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि अभियान चलाउने बताउँदै आउनुभएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यो वर्ष भने अभियान सफल बनाउने भन्दै काठमाडौंबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविर पुग्नुभएको थियो । उहाँको आरोहणका लागि ९५ लाख रुपैयाँ व्यवस्था गरिएको थियो ।

उहाँलाई गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत, म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायतले सहयोग गरेका थिए ।

सन् २०१३ मा जापानका युचिहिरो मियुराले ८० वर्षको उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान बनाउनुभएको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४     9:07:09 PM

Tara Chapagain

See all posts by