मादी गाउँपालिकामा एमालेको चुनावी सभा तथा घरदैलो कार्यक्रम

मादी गाउँपालिका, २३ वैशाख ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । यसैक्रममा कास्कीको मादी गाउँपालिकाका विभिन्न स्थानमा नेकपा एमालेले शनिबार चुनावी अभियान तथा सभाहरु गरेको छ ।

शनिबार वडा नं. ८ को रवैडाँडा, गोर्जे, नागिझार, पाखुरीकोट लगायतका ठाउँमा घरदैलो तथा गोर्जेस्थित थापा गाउँमा चुनावी आमसभा भएको छ । आम सभालाई मादी गाउँपालिकाका अध्यक्षमा उम्मेदवार बेदबहादुर गुरुङ श्याम, उपप्रमुखका उम्मेदवार विष्णुमाया पौडेल, घोषणा पत्र संयोजक शेखरनाथ अधिकारी, प्राध्यापक बुद्धिजीवी कृष्णराज अधिकारी, वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार चन्द्रबहादुर सुवेदी, नेकपा एमाले मादी गाउँ पालिका चुनाव प्रचारप्रसार संयोजक पदम प्रसाद पौडेल लगायतले बोलेका थिए ।

उक्त अवसरमा बोल्दै अध्यक्षका उम्मेदवार बेदबहादुर गुरुङले मादी गाउँपालिकाको समृद्धिका लागि स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारको जित आवश्यक रहेको धारणा राखे । ‘मादी गाउँपालिकाको विकासका लागि मेरो उम्मेदवारी हो,’ उनले भने ।

त्यसैगरी, मादी गाउँपालिका वडा नं. ५ का विभिन्न स्थानमा पनि शनिबार घदैलो भएको छ । स्थानीय चितेपानी, ठुलास्वाँरा लगायतका ठाउँमा वडा अध्यक्षका उम्मेदवार ई. सुब्बा गुरुङको नेतृत्वमा चुनावी प्रचारप्रसार तथा घरदैलो भएको हो । वडा नं. ६ को चासु, पोर्दी, मुर्दी, गजकी, भेडिखर्क, पसेनी, वखरे, भुमरे, मौलोडाँडा, चिप्ली लगायतका ठाउँमा पनि घरदैलो भएको छ । नेकपा एमाले क्षेत्र नं. १ का क्षेत्रीय सदस्य झलक बरालको नेतृत्वमा वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार पसबहादुर बास्तोला लगायत चुनावी अभियानमा सहभागी थिए । वडा नं. ७ को छाचोक, मेल्बोट, पानीघट्ट, थागगाउँ लगायतका स्थानमा वडा अध्यक्षका उम्मेदवार बालकृष्ण गुरुङसहितको टोलीले घरदैलो गरेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४     6:18:43 PM

Tara Chapagain

See all posts by