बोक्सी आरोपमा एक दम्पतीमाथि खुकुरी प्रहार.

सिरहा,४ वैशाख  / सिरहाको धनगढीमाई नगरपालिका-६ मोतियाहीका एक दम्पतीलाई बोक्सीको आरोपमा स्थानीय बासिन्दाले खुकुरी प्रहार गरेका छन् । स्थानीय एक किशोरीलाई टुनामुना गरी बिरामी बनाएको भन्दै ५० वर्षकी कुसमादेवी यादव र उनका पति ५५ वर्षका अशेश्वर यादवलाई कुटपिट गरेका हुन् ।

खुकुरी प्रहारबाट घाइते दुबैको लिला मदन पोलिक्लिनिक लहानमा उपचार भइरहेको छ । कुटपिटसँगै खुकुरी प्रहार गर्दा कुसमाको हात, खुट्टा र टाउको गहिरो चोट लागेको छ । उनका पति अशेश्वरको बायाँ हत्केला, नाकमा चोट लागेको  अस्पताले जनाएको छ ।

पीडितकी छिमेकी शिवकुमार यादवकी छोरी किरण भनिने अंशुकुमारी यादव पटक–पटक बिरामी पर्न थालेपछि ‘टुनामुना गरेर बिरामी बनाई’ भन्दै चैत ३१ गते बिहानै घरमै आएर तीन जनाले लछार–पछार गर्दै कुटपिट गरेको जनाएको छ ।

उहाँ भन्नुभयो, ‘घरआँगन बढार्दै थिएँ । एक्कासी आएर लछापछार गर्न थाले ।’  उपचारमा रहेकी कुसमाले भनिन्, ‘मलाई बचाउन आएका पतिलाई समेत छोडेनन् ।’

घाइते कुसमाका अनुसार छिमेकीहरु शिव कुमार यादव, विजय यादव र आशाराम दासले पति पत्नी दुवैलाई लाठी र खुकुरी लिएर कुटपिट गरी घाइते बनाएका हो । कथित बोक्सीको आरोपमा प्रौढ पति–पत्नीलाई कुटपिट गर्ने शिवकुमार यादव, शिवकुमारका भाई विजय यादव र आशाराम दासलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी हिरा बहादुर पाण्डेले बताउनु भयो ।

घटनालाई कानुनी प्रक्रियामा जान नदिन सोमबार इलाका प्रहरी कार्यालयमा दुबै पक्षको छलफल चलिरहेको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख ४, २०७४     9:50:18 PM

Ganesh Pahari

See all posts by