राष्ट्रपति भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौं,  ४ वैशाख/राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि सोमबार भारत प्रस्थान गर्दै हुनुहुन्छ । ३४ सदस्यीय भ्रमण टोलीसहित राष्ट्रपति भण्डारी बिहान ११ बजे भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो ।

सरकारले राष्ट्रपति भण्डारीको विदेश भ्रमणका क्रममा सोमबार र उहाँ स्वदेश फर्किने दिन अर्थात आउँदो शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि राष्ट्रप्रमुखको विदेश भ्रमणमा जाने दिन र फर्किने दिन सार्वजनिक बिदा दिने चलन डा. रामवरण यादवका पालामा तोडिएको थियो ।

तर सरकारले फेरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी लगायत सहभागी हुनुहुनेछ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी भारत भ्रमणमा जान लाग्नुभएको हो ।

 

प्रकाशित मितिः सोमवार, बैशाख ४, २०७४     8:25:41 AM

Tara Chapagain

See all posts by