बिस्केट जात्राको लिङ्गो भाँचियो, एकको मृत्यु, पाँच घाइते.

भक्तपुर,  १ बैशाख / भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाचिँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

ज्यान जानेमा अन्दाजी ३४ वर्षका एक व्यक्ति रहेको र पहिचान हुन नसकेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईले बताउनुभयो । लिङ्गो भाचिएर घाइते भए लगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनु अघि नै ज्यान गएको थियो ।

घाइते हुनेमा सूर्यविनायक ६ बस्ने वर्ष २२ का सुमन तज, च्यामासिंह लिवाली बस्ने वर्ष ५० का रामकृष्ण दुवाल, भनपा ११ बस्ने वर्ष ४८ का बालकृष्ण लिला, कमलविनायक बस्ने वर्ष ५३ का कृष्णभक्त दुवाल र नासमनाका वर्ष २८ का सुरेन्द्र कैती रहेको उहाँले जानकारी दिनुभयो ।

बिहीबार बेलुका भक्तपुर नगरपालिका भेलुखेल स्थित ल्यासिंखेलमा हजारौँ मानिसको सहभागितामा तान्त्रिक विधिअनुसार ५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो उठाउने क्रममा अचानक भाँचिएको थियो ।

लिङ्गो भाँचिए पछि स्थानीय बासिन्दाले अर्को लिङ्गो उठाउने प्रयास गरिरहेका छन् । राति ९ बजेसम्म अर्को लिङ्गो उठाउने क्रम जारी रहे पनि लिङ्गो उठेको छैन । स्थानीय बासिन्दाका अनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको संकेतको रुपमा लिने गरिएको छ ।

गुठी संस्थान भक्तपुरले लिङगो भाचिएमा अर्को लिङ्गो उठाउनका लागि बिकल्पको रुपमा दुईवटा लिङ्गो ल्याउने गर्दछ । लिङ्गो भक्तपुरको चित्तपोल स्थिल सल्लाघारी जंगलबाट तान्त्रिक बिधि अनुसार पुजा गरेर ल्याउने गरिन्छ।

चैत मसान्तको दिनमा लिङ्गो उठाएर आज वैशाख १ गते नयाँ वर्षका दिन भव्य बिस्केट जात्रा मनाएर बेलुका लिङ्गो ढाल्ने परम्परा रहेको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने यो जात्रा आगामी ५ गते सम्पन्न हुने गर्दछ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १, २०७४     9:22:58 AM

Ganesh Pahari

See all posts by