भक्तपुरको बिस्केट जात्रा हेर्न आज बिहानैदेखि भीड.

भक्तपुर, वैशाख १/  नेपालको प्राचिन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुक्रबार बिहानैदेखि सुरु भएको छ । नयाँवर्ष अर्थात वैशाख १ गते  भक्तपुरको भेलुखेलमा बिहीबार राती पौने १० बजे उठाइएको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट हजारौंको बिहानैदेखि भीड लागेको छ ।

चैत्र मसान्तको दिन बेलुका गःहिटीमा रहेको भैरवलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ । चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुका लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्ष पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।

बिहीबार बेलुका लिङ्गो उठाउने क्रममा पहिलो लिङ्गो भाचिएर एक जनाको ज्यान गएको र पाँच जना घाइते भएपछि स्थानीय बासिन्दाले राती १० बजे अर्को लिङ्गो उठाएका थिए ।

लिच्छवीकालदेखि विस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा विस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।

किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरका एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले छोरीसँग विहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने भनेपछि ती राजकुमारीसँग विहे गर्न धेरै आए र बिहे गरे । बिहे गरेकै रात राजकुमारको मृत्यु हुने भएकाले राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै स्थापना गरे ।

एकदिन बुद्धिमानी राजकुमारले राजकुमारीसँग विहे गरे र राती ओछ्याउनमा राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

यसरी अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो भेलुखेल स्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ ।

नेपाल सम्वत २६८ मा भक्तपुर सहर स्थापना हुनुभन्दा अघि नै यो जात्रााको परम्परा सुरू भइसकेको र यो जात्रालाई राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्ल्ेख छ ।  त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको संस्कृतविद् श्रीओम कायस्थले बताउनुहुन्छ ।

नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट विस्केट जात्रा हुन गएको स्थानीय बूढापाकाहरू बताउँछन् ।

ईतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रुपान्तरण बिस्केट भएको बताउँदै वि को अर्थ विश्वनाथ भैरब र ध्वजा शिव र शक्तिको प्रतिक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताउनुहुन्छ । बिस्केटलाई सकालको देवताका रुपमा पनि पुजिने बताउँदै बिस्केट जात्रा मसान जात्राको रुपमा मृत आत्माको मुक्तिको लागि पनि मनाउने बताउन उहाँको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १, २०७४     8:37:43 AM

Ganesh Pahari

See all posts by