काठमाडौं,२९ चैत /सरकारले संविधान संशोधनको नयाँ विधेयक व्यवस्थापिका संसदमा दर्ता गराएको छ । चार महिनाअघि दर्ता गराएको सीमांकन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव फिर्ता लिए लगत्तै मंगलबार साँझ नयाँ विधेयक दर्ता भएको हो ।
मंगलबार दिउँसो बसेको संसद बैठकले प्रक्रियामा रहेको विधेयक फिर्ता लिन सहमति दिएको थियो ।
साँझ कानुनमन्त्री अजयशंकर नयकले अर्को विधेयक दर्ता गरे । नयाँ संशोधन विधेयकमा भाषा, नागरिकता र राष्ट्रिय सभा गठनसम्वन्धी पुरानै प्रस्ताव हुबहु छ ।
स्थानीय जनप्रतिनिधिको अधिकार ‘खोस्ने’ प्रस्ताव
संशोधन विधेयकमा धारा ८६ संशोधनको प्रस्ताव गरिएको छ । जसमा राष्ट्रिय सभा सदस्य चयनका लागि बन्ने निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखलाई हटाउने प्रस्ताव गरिएको छ । यसले स्थानीय सरकारका रुपमा रहेको स्थानीय तहका पदाधिकारीको अधिकार खोसेको छ ।