चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

११ चैत, काठमाडौं ।

प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुभन्दा केही घण्टा अघिमात्रै विहीबार दिउँसो उपेन्द्र यादव दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रचण्ड र उपेन्द्रवीच केहीबेर कुराकानी भयो, त्यसलगत्तै मधेसी मोर्चाको बैठक बस्यो ।

 

प्रधानमन्त्री प्रचण्ड चीन जानुअगावै विहीबारै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने योजनामा थिए । यसका लागि उनले विहीबार दिनभरि प्रयास गरे । तर, मोर्चाको आन्तरिक रणनीतिका कारण त्यस्तो हस्ताक्षर सम्भव भएन । एमालेले पनि प्रचण्डलाई साथ दिएन । र, कुनै सहमति नगरी प्रधानमन्त्री चीनतिर लागे ।

दिल्लीबाट फर्केर प्रचण्डलाई भेटिसकेपछि मधेसी मोर्चाको बैठकमा जुटेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब हुने तीनवटै निर्वाचन बहिस्कार गर्न मोर्चाको बैठकमा प्रस्ताव राखेको एक नेताले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री प्रचण्डले भनेजसरी मोर्चाले कुनै पनि सहमतिपत्रमा हस्ताक्षर गर्न नहुने यादवले बैठकमा बताएका थिए, जसलाई महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सबैले सहमति जनाएका थिए ।

प्रधानमन्त्रीले गरेको सहमतिको प्रस्तावलाई लिखित रुपमा स्वीकार नगर्ने तयारीका साथ मोर्चाका नेताहरु साँझ बालुवाटार बैठकमा सहभागी बनेका थिए ।

प्रकाशित मितिः शनिबार, चैत्र १२, २०७३     4:23:05 AM

Tara Chapagain

See all posts by