किराँत सेवा समाज कास्कीको अध्यक्षमा गजेन्द्र लिम्बु निर्वाचित.

पोखरा, ६ चैत्र/ नेपालको पुर्वाञ्चल लगायतको क्षेत्रबाट कास्की पोखरामा आई बसोवास गरेका किरातीहरुको साझा संस्था किराँत सेवा समाज कास्कीको आगामी नेतृत्वका लागि गजेन्द्र लिम्बु अत्याधिक मतका साथ निर्वाचित हुनुभएको छ ।

सर्वसम्मतिको लागि कार्यसमिति गठन गर्ने पहल असफल भए पश्चात पहिलो पटक कार्यसमितिको लागि भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष गजेन्द्र लिम्बुले अध्यक्षका लागि सल्लाहकार डिवी राईलाई ४२ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । कुल १ हजार ६९ मतदाता मध्ये ६२६ मत खसेकोमा बिजेता लिम्बुले ३१२ मत र पराजित २७० मत प्राप्त गर्नुभएको समाजका वरिष्ठ सल्लाहकार तथा निर्वाचन प्रमुख आयुक्त गणेश देवानले जानकारी दिनुभयो।

कार्यसमिति प्रथम उपाध्यक्षमा विद्यामाया राई र सचिवमा नविन राई विजयी हुनुभएको छ । आइतवार विहान सम्पन्न मतगणना अनुसार प्रथम उपाध्यक्षमा विद्यामाया राईले २८१ र अर्का प्रत्यासी नरेन्द्रकुमार राईले २२७ मत, सचिवमा नविन राईले २५० र खड्क राईले २३८ मत प्राप्त गरेका थिए ।

यसरी नै सदस्यहरुमा सुमुमाया लिम्बु(सर्वाधिक ३५७ मत), मीरा राई(३३० मत), रजिन राई(३०८), मीना राई(३०५), दिलबहादुर लिम्बु(२९५), प्रेमकुमार राई(२७२), भुपेन्द्र राई(२६९), महेन्द्र राई(२६९) र श्रीधन राई(२६०) मतका साथ आगामी दुई वर्षका लागि निर्वाचित हुनु भएको निर्वाचन प्रमुख आयुक्त देवानले जानकारी दिनुभयो । ९ जना कार्यसमिति सदस्यका लागि १५ जना चुनावी प्रतिष्पर्धामा रहेका थिए ।

कार्यसमितिको उपाध्यक्षमा प्रेम चोङवाङ, सहसचिवमा सुनिलकुमार राई र कोषाध्यक्षमा जीवन राई निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयुक्त देवानले बताउनुभयो । पोखरा १५ टुटुंगास्थित किराँत सेवा समाज भवनमा शनिवार १६ औं साधारणसभा तथा आठौं अधिवेशनसँगै आगामी दुई वर्षे कार्यकालका लागि मतदान भएको थियो ।

साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरिक्षक रामकुमार राईले उद्घाटन गर्नुभएको थियो भने समाजका अध्यक्ष अरुण लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकुमार सुनुवार राईले स्वागत र सचिव खुशी राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष आनन्द चाम्लीङ, उपाध्यक्ष लोकेन्द्र चाम्लिङ राई, समाजका सल्लाहकार तथा निर्वाचन समितिका आयुक्त गणेश देवान, तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३     7:40:16 PM

Ganesh Pahari

See all posts by