अग्नी रुपन्देहीलाई नेपालगञ्ज गोल्ड कप उपाधि.

नेपालगञ्ज , चैत्र ३/ अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो ।

६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । टाइब्रेकरमा दुवै टोलीले ८–८ पेनाल्टी प्रहार गरेका थिर्ए । सडन डेथमा गौरव बुढाथोकीको गोलमा रुपन्देहीले नेपालगञ्ज गोल्डकप जितेको हो ।

रुपन्देहीले गत महिना रमपम चौथो उदयपुर गोल्डकपको उपाधि जितेको थियो । ६५ औं मिनेटमा अनिल गुरुङको पेनाल्टी गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा संकटाका जारी सिजनमा सबैभन्दा सफल क्लब बन्नबाट रोकिएको थियो । संकटाले जितेको भए त्यो उसको बर्षको चौथो उपाधि हुने थियो । यो बर्ष संकटा, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले समान ३ उपाधि जितेका छन् ।

रुपन्देहीका खेलाडीले पेनाल्टी बक्समा फाउल हानेपछि संकटाले पेनाल्टी पाएको थियो । शिव सुवेदीले खेल सकिन १ मिनेट बाँकी रहँदा बराबरी गोल गरेपछि रुपन्देही खेलमा फर्केको थियो । निर्धारित समयपछि खेल निर्णयका लागि सिधै टाइब्रेकरमा लगिएको थियो । पेनाल्टीमा रुपन्देहीका सौरभ मगरले पहिलो प्रहार बिममा लागेर फर्केको थियो । संकटाका लागि लगातार शुसील केसी, विश्व अधिकारी, कालुदीपक कार्की र भुषण सुब्बाले लगातार गोल गर्दै अग्रता दिलाएका थिए । रुपन्देहीका लागि शिव सुवेदी, उत्तम गुरुङ र कालु थापाले लगातार पेनाल्टीमा गोल गरे । संकटाका लागि अन्तिम पेनाल्टी हान्न पुगेका कप्तान रवि सिलवालले गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । त्यो अवस्थामा संकटा ४–३ ले अगाडि थियो । रुपन्देहीका लागि लक्ष्मण रुचालले अन्तिम पेनाल्टीमा गोल गर्दै टाइब्रेकरमा ४–४ को बराबरीमा पुर्याएका थिए ।

तर खेलको रोमाञ्चकता त्यतिमा रोकिएन । सडन डेथको संकटाका राज पौडेलले गोल गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकबाट बाहिरयो । रुपन्देहीका अजय विकको प्रहारलाई संकटाका गोलकिपर अजय महर्जनले रोके । त्यसपछि संकटाका मार्टिन्स अजयी र रुपन्देहीका लागि अजय थापाले गोल गरे । संकटाका लागि सडन डेथको तेस्रो पेनाल्टी प्रहार गरेका लावल ओलालेकानको प्रहार पोस्टमा ठोक्किएर फर्कियो भने रुपन्देहीका गौरव बुढाथोकी गोल गर्न सफल भए । खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गर्दै रुपन्देही खेलमा फर्काएका शिव सुवेदी फाइनलको म्यान अफ द म्याच भए ।

त्यहि गोलमा रुपन्देहीले ५ लाख रुपैयाँ पुरस्कार राशीको नेपालगञ्ज गोल्डकप जितेको थियो । संकटाले २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     9:20:23 PM

Ganesh Pahari

See all posts by