स्थानीय चुनावमा उम्मेदवार हुन चाहनेले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं, फागुन २८ / निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय चुनावमा भाग लिने उम्मेदवारका लागि खर्चको सीमा निर्धारण गरेको छ । शनिबार बसेको आयोगले बैठकले पदअनुसार उम्मेदवारले खर्च गर्न पाउने सीमा तय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

चुनावमा अनाआवश्यक पैसा खर्च गरेर भड्किलो हुन नदिन आयोगले खर्चको सीमा निर्धारण गरेको हो । आयोगले तय गरेको खर्चको सीमा अनुसार महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारले सात लाख ५० हजार खर्च गर्न पाउने भएका छन् ।

महानगरपालिकाकै वडा अध्यक्ष र वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यका उम्मेदवारले तीन लाखसम्म खर्च गर्न पाउनेछन् । महानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारले सवारी साधनका लागि एक लाख ५० हजार, प्रचारप्रसारका लागि एक लाख, कार्यकर्ता परिचालनका लागि एक लाख ३९ हजारसम्म खर्च गर्न पाउनेछन् ।

उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारले पाँच लाख ५० हजार र वडा अध्यक्ष र वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यको उम्मेदवारले दुई लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

त्यस्तै नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारले चार लाख ५० हजार र वडाध्यक्ष र वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यको उम्मेदवारले दुई लाखसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले गाउँपालिकाको प्रमुख र उपप्रमुखलाई तीन लाख ५० हजार र वडा अध्यक्ष र वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यको उम्मेदवारले एक लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले दश लाखसम्म मात्र खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको थियो । तर, यो नियमको प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको थिएन ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २९, २०७३     5:09:54 AM

Tara Chapagain

See all posts by