प्रारम्भिक शिक्षा चुनौतीको विषय मिडिया अभिमुखीकरण कार्यक्रम.

 पोखरा, २७ फागुन / शिक्षाविद्हरु भन्छन्, कक्षा १ देखि ३ सम्म विद्यार्थीहरुले पढ्न सिक्छन् र कक्षा ३ पछि उनीहरुले सिक्नका लागि पढ्छन् । तर नेपालका लागि प्रारम्भिक कक्षा पढाइ ठूलो चुनौतीको विषय बनेको छ । प्रारम्भिक कक्षा पढ्ने विद्यार्थीहरुलाई शुद्ध पढ्न नसक्दा सीपमूलक आधारभूत उपलब्धिमा न्यून भएको देखियो ।

प्रारम्भिक कक्षामा पढाइ सीप हासिल गर्न नसकेका विद्यार्थीहरु माथिल्लो कक्षामा पुगेपछि झन कमजोर बन्दै गएको तथ्य अध्ययनहरुले देखाएका छन् । यसमा सिक्ने र सिकाउनेमा कमजोर देखिएको जिल्ला शिक्षा कार्यालय सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले बताए । ‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ अन्तर्गत शुक्रबार पोखरामा मिडिया अभिमुखीकरण कार्यक्रममा उनले पढाईमा गुणस्तर हुन आवश्यक रहेको बताए । उनले नेपाली भाषा शिक्षाको लागि ४५ मिनेटको समय नपुग्ने सुनाए । ‘भाषा शिक्षाको लागि ९० मिनेट हुनुपर्छ,’ ढकालले भने, ‘पढाई भनेको गति, लय मिलाएर पढ्ने सीप हो ।

बुझेर पढ्ने र पढेर बुझ्ने बानीको विकास गराउनुपर्छ ।’ अधिकांश विद्यालयका कोठाहरु उदेक लाग्दोखालको रहेको उनले प्रस्टाए । ‘कक्षा कोठाका भित्ताहरुमा विभिन्न विधाका सामाग्री छापामय बनाउनुपर्छ,’ उनले भने, ‘यसले गर्दा घण्टी लाउने बित्तिकै विद्यार्थीहरु बाहिर निस्कन पाउँदैनन् । आफूले मन पर्ने पुस्तक पढेर बस्छन् ।’

प्रारम्भिक कक्षा पढाइ १ देखि ३ कक्षासम्म लक्षित हुँदा विद्यार्थीको सिकाइ प्रति अभिभावक र विद्यालयको अनुगमन भइराख्नुपर्ने उनले जोड दिए । उनका अनुसार प्रिन्टेड सामाग्रीहरु कास्कीका सबै विद्यालयमा पु¥याइएको छ । २०४९÷०५० सँगै शिक्षा क्षेत्रमा विकासको लहर पलाएको उनले सुनाए । प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको क्षेत्रीय म्यानेजर शशी शाहले छोराछोरीको प्रारम्भिक कक्षा पढाइको तालमेल नमिल्दा थोरै मात्र विद्यार्थीले पढेको बुझ्ने गरेको सुनाए ।

पढाइको अर्थ शब्द तथा वाक्य बुझ्ने क्षमता हुने प्रारम्भिक शिक्षाले शैक्षिक सफलता हासिल गर्न मद्दत पुग्ने उनले बताए । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम क्षेत्रीय संयोजक दीपक पण्डितले प्रारम्भिक पढाइले शिक्षक र विद्यार्थीको उपलब्धी स्तर पहिचान गर्ने बताए । उनले कसैले बोलको वा पढेको सुन्ने र बुझेर व्यक्त गर्ने अन्तर्गत यो शिक्षा रहेको बताए । कार्यक्रमको प्रतिनिधि संगीता लामाले अहिलेको पढाई बोरिङखालको बताइन् । स्कुलबाट घर आउने बित्तिकै होमवर्क गराइहाल्ने परिपाटीले मानोटोनस हुने गरेको बताइन् । ‘पढेलेखेको बाबुआमाहरु समेत यस्तो गर्छन,’ उनले भनिन, ‘पढाइ रमाइलो वातावरणमा हुनुपर्छ ।

तवमात्र पढेको बुझ्न सकिन्छ ।’ युएसएआइडि नेपालको आर्थिक सहयोगमा नेपाल सरकारको शिक्षा मन्त्रालयद्धारा सञ्चालित ५ वर्षे परियोजना अन्तर्गत पोखरामा पनि कार्यक्रम गरिएको थियो । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम १६ जिल्लामा लागु भएका छन् । पहिलो चरणमा भक्तपुर, बाँके, कन्चरपुर, मनाङ, कास्की र सप्तरी गरी ६ जिल्ला र दोस्रो चरणमा बर्दिया, कैलाली, दाङ, डडेलधुरा, धनकुटा, डोल्पा, मुस्ताङ, पर्सा, रुपन्देही र सुर्खेत गरी १० जिल्ला छन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     8:04:20 PM

Ganesh Pahari

See all posts by