प्रेस सोसाइटीको स्थापना दिवसको अवसरमा पत्रकार नारायण शाहीलाई उपचारार्थ सहयोग.

पोखरा, २५ फागुन/ नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनाएको छ । बुधबार काठमाडौं, पोखरा लगायतका ठाउँमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । सोसाइटीले काठमाडौंमा चियापान गरेको छ भने पोखरामा शुभकामना आदानप्रदान तथा पत्रकारलाई आर्थिक सहयोग गरेको छ ।

बुधबार बिहान शुभकामना आदानप्रदान गरेको सोसाइटी कास्की शाखाले बेलुका दुर्घटनाबाट घाइते भइ उपचाररत पत्रकार नारायण शाहीलाई आर्थिक सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सोसाइटी कास्की अध्यक्ष सञ्जय मल्ल र नयाँ शक्ति केन्द्रीय परिषद सदस्य भानु अधिकारीले पत्रकार शाहीलाई उपचार सहयोगार्थ १५ हजार रुपैयाँ हस्तान्तरण गरे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले पोखरामा एउटा पत्रकारलाई अफ्ठ्यारो पर्दा अर्को पत्रकारले सहयोग गर्ने परिपाठीको विकास भएको बताए । सोसाइटीले स्थापना दिवसको अवसरमा पत्रकारलाई सहयोग गर्नु सकारात्मक रहेको श्रेष्ठको भनाइ थियो । नयाँ शक्ति केन्द्रीय परिषद सदस्य भानु अधिकारीले पत्रकारको हकहित र अफ्ठ्यारो परेका बेला आफूहरु सधैँ सहयोग गर्न तयार गरेको बताए ।

सोसाइटी कास्की अध्यक्ष सञ्जय मल्लले स्थापनाको छोटो समयमै उपलब्धी हासिल गर्न सफल रहेको भन्दै पत्रकारको हितमा कार्यक्रमहरु ल्याउन लागेको जानकारी दिए । कार्यक्रमको सञ्चालन प्रेस सोसाइटीका मन क्षेत्रीले गरेका थिए ।
काठमाडौंमा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय संयोजक रुद्र भट्टले संगठन स्थापना भएको एक वर्षमै देशैभरि संगठनको सम्पर्क स्थापना भएको र ४३ जिल्लामा समिति गठन गरिसकिएको जानकारी दिए ।

स्थापना दिवसमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सूचनाको हक महत्वपूर्ण भएकाले सबै जनता सुसूचित हुनु पाउनुपर्ने बताए । उनले पत्रकारहरूले सत्य, तथ्यमा आधारित भएर सूचना प्रवाह गर्नुपर्ने र त्यसलाई विकास र समृद्धिमा जोडनुपर्ने कुरामासमेत जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपालजस्तो देशमा पत्रकारिता राजनीतिक परिवर्तन र आन्दोलनमा पनि जोडिने बताए । नेपाल प्रेस युनियनका अध्यक्ष वद्रि सिग्देलले सोसाइटी स्थापना भएर विकास र समृद्धिसहितको पत्रकारिता गर्नु सुखद पक्ष रहेको उल्लेख गरे ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २५, २०७३     8:31:07 PM

Ganesh Pahari

See all posts by