केनको ह्याट्रिक, म्यानचेस्टर सिटीलाई पछि पार्दै टोटनह्याम दोस्रो स्थानमा

फागुन १६

टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा स्टोक सिटीलाई ४–० ले हराएर दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केनले ह्याट्रिक गरे । यस्तै डेल अलीले एक गोल गरे । टोटनह्यामले चारै गोल पहिलो हाफमा नै गरेको हो ।

केनले १४, ३२ र ३७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्जुरी समयमा अलीले गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा ४–० को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन र टोटनह्याम ४–० ले विजयी भयो । केनले यो सिजन सबै प्रतियोगितामा गरेर २२ गोल गरिसकेका छन् । केनले सन् २०१७ मा ११ खेलमा १२ गोल गरेका छन् ।

उनले यो हप्ता दोस्रो ह्याट्रिक गरेका हुन् । जितपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २६ खेलबाट ५३ अंक भएको छ । एक खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटीको ५२ अंक छ । दोस्रो स्थानको टोटनह्याम शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३     7:57:41 AM

Tara Chapagain

See all posts by