एमाले स्थायी कमिटि बैठक : जेठभित्र स्थानीय तहको निर्वाचन गर्न ध्यानाकर्षण गराउने

भक्तपुर, फागुन ३ ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटि बैठकले आगामी जेठभित्र नै स्थानीय तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

एमालेले २०७४ मंसिरसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता योगेश भट्टराईले भन्नुभयो, ‘बैठकमा संविधानले तोकेकै समयभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने भन्नेमा बृहत छलफल भयो, आगामी वैशाख जेठमा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

निर्वाचनका लागि आवश्यक कानुनी र राजनीतिक वातावरण बनाउन पनि बैठकले ध्यानाकर्षण गराएको छ । निर्वाचनका लागि सबैसँग वार्ता र संवाद अगाडि बढाउनु पर्नेमा बैठकमा छलफल भएको बताउँदै उहाँले मधेसी मोर्चासँग पार्टीको तर्फबाट विभिन्न नेताहरुले पछिल्लो समयमा भइरहेको छलफल र वार्तालाई प्रभावकारी एवं उपयोगी ढंगले अगाडि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले देशलाई निकास दिन विभिन्न दलहरुसँगको वार्ता र छलफललाई अगाडि बढाउँदै जानु पर्नेबारेमा बृहत छलफल भएको बताउनुभयो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रकोबारेमा गम्भीरताका साथ छलफल भएको बताउँदै उहाँले देशको समस्या समाधानका लागि सबै दल सँगै नै अगाडि बढ्नु पर्नेबारेमा छलफल भएको जानकारी दिनुभयो । देशको वर्तमान समस्या समाधानका लागि एमालेले सबै दललाई सँगै लिएर अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेको छ ।

फागुन १४ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमा गर्न बैठकले माग गरेको छ । साथै नेपाल पत्रकार महासंघको अधिवेशन गर्न रोक लगाउने उदेश्यले भएको तालाबन्दीलाई समेत पार्टीले गम्भीर रुपमा लिएको जनाएको छ ।

बैठकले बुधबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने पार्टीको पोलिटव्यूरो बैठकको एजेण्डा पारित गरेको छ । बैठकमा पार्टी अध्यक्षको प्रतिवेदन, तथा पार्टीको आन्तरिक अबस्था, देशको पछिल्लो राजनीतिक अबस्था, मेची, महकाली अभियान, निर्वाचन लगायतका विषयको एजेण्डा निर्धारण गरेको छ ।

एमालेले आगामी फागुन २१ गतेदेखि गर्ने मेची महाकाली राष्ट्रिय जनअभियानलाई अनुमोदन गर्दै सशक्त पार्ने निर्णय गरेको छ । कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको र त्यसका लागि पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसंगठनहरु र आम समुदायलाई हार्दिक अपिल गरेको छ ।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बसेको बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रदीप ज्ञवाली, भिम रावल, अमृत बोहरा, ईश्वर पोखरेल लगायतका स्थायी कमिटिका अधिकांश नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३, २०७३     8:07:52 PM

Tara Chapagain

See all posts by