नेपथ्यको नयाँ गीत ‘शिरफूल’ सार्वजनिक

 १६, माघ, काठमाडौं , नेपथ्यको नयाँ गीत ‘शिरफूल’ एकैसाथ विभिन्न डिजिटल म्युजिक स्टोरबाट सार्वजनिक भएको छ ।

नेपालयले ‘शिरफूल शिरैमा, वनफूल वनैमा, हिउँको फूल धौलासिरिमा’ बोलको गीत स्पोटिफाइ, आइट्युन, एप्पल म्युजिक, गुगलप्ले, अमेजन लगायतमा उपलब्ध गराएको हो । ती म्युजिक स्टोरहरुबाट सो गीत सुन्न र डाउनलोड समेत गर्न सकिने नेपालयले जनाएको छ । यो गीतको संक्षिप्त अंश भने नेपथ्यको युट्युब च्यानलमा समेत हेर्न र सुन्न सकिने व्यवस्था गरिएको छ ।

नेपथ्यको दसौं एल्बमको यो तेस्रो गीत सार्वजनिक गरिएको हो । यसअघि दुई गीतहरु ‘हो रामा रामा’ र ‘कोशीको पानी’ राजधानीका एफएम रेडियोमार्फत प्रसारण हुनुका साथै युट्युब र डिजिटल म्युजिक स्टोरहरुमा उपलब्ध भइसकेका छन् ।

एउटा पर्यटकले पदयात्रा गर्दाको वर्णन समेटिएको ‘शिरफूल’ मा मध्यपश्चिमको लेकाली स्वाद पाइन्छ ।

नेपथ्यका मुख्य गायक एवं संकलक अमृत गुरुङ तीन वर्षअघि डोल्पा र रुकुमको सिमानातिर पर्ने फागुने लेकबाट यात्रा थालेर उत्तर गंगाको किनारैकिनार बिर्गुन, ढोरपाटन छिचोल्दै बेनी निस्केका थिए । पदयात्राका क्रममा गुराँस फुलेका राताम्मे डाँडा र हिमाली थुम्का हेर्दै अघि बढ्ने क्रममा तयार भएको सो गीत सांगीतिक यात्रा संस्मरण बन्न पुगेको गायक गुरुङ बताउँछन् ।

‘पदयात्रा गर्ने पर्यटकका निम्ति वसन्त ऋतुमा यो भेग असाध्यै रमाइलो हुन्छ । प्रकृतिको यति सुन्दर वरदान अन्यत्र विरलै भेटिन्छ’, उनले सुनाए । गीत त्यस भेगमा प्रचलित ‘शिरफूल भाका’ मा आधारित छ ।

‘केटाकेटीदेखि सुन्दै आएको भाकालाई मौलिक स्वरमा सुन्न त्यस भेगको यात्रामा निस्केको थिएँ,’ अमृत भन्छन्, ‘तर, गाउने पुराना मान्छे नभेटिएपछि त्यसै भाकामा आधारित रहेर यो आफ्नै सिर्जना तयार पारेको हुँ ।’

पछिल्लो समय एल्बम बनाएर बजारमा बिक्री-वितरणको चलन घट्दै गएको अवस्थामा ‘नेपथ्य’ ले श्रोता-दर्शकसम्म पुग्न सिङ्गल ट्र्याक निकाल्न थालेको छ । त्यसै क्रममा दसौं एल्बमका गीतहरु नेपालयले क्रमशः डिजिटल रिलिज गर्दै आएको छ ।

नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘अघिल्ला दुई गीतहरु युट्युबमा ल्याउँदा राम्रो प्रतिक्रिया आए । अब डिजिटल अडियो प्लेटर्फमको विकल्प रोजेका छौं ।’

प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     7:55:34 PM

Ganesh Pahari

See all posts by